सर्लाहीमा आगलागी: साढे दुई लाखभन्दा बढीको धनमाल क्षति

Posted on: 25 Dec, 2019

पुष ९, सर्लाही | सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ । आगलागीबाट बैठाको पसलमा रहेको रु ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको हो । आगो के कति कारणले लागेको हो त्यो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।  

त्यस्तै कौडेना गाउँपालिका–५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब रु ८० हजार बराबरको क्षति भएको छ । कुन्यूमा कसरी आगलागी भयो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । 

यसैबीच मङ्सिर १९ गते घर जलेर घरबारविहीन बनेका हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ ।  हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गर्नुभएको छ । विद्युत चुहिएर आगलागी हुँदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । घर जलेपछि उहाँ परिवारसहित सोही वडामा रहेको सन्तानेश्वर प्राथमिक विद्यालयमा बस्दै आउनुभएको छ ।  नगरपालिकाले रु एक लाख घर बनाउन प्रदान गर्ने जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!