युवतीलाई बलि चढाउन भारत लैजान लागेको आरोपमा ७ जना पक्राउ

Posted on: 26 Dec, 2019

पुष १०, काठमाडौँ | मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पुर्याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङकी २४ वर्षीया दिलकुमारी बुढा मगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २३ वर्षीया प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी  छन् । 

परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङकी प्रेममायाले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाइ भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो । भारत लानुपूर्व काठमाडौँमा रहेकी पीडित युवतीलाई पक्राउ परेकाहरुले महिनावारी भए नभएको, घाउ भएनभएको तथा शल्यक्रिया भए नभएको सोधेका थिए । पक्राउ परेकाहरुले उक्त कुरा सोधेसँगै पीडित युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । 

पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । पीडित युवतीले पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर गएको थियो । “पीडित युवतीलाई काठमाडौँबाट विराटगर जाने हवाई टिकट र खर्चसमेत पक्राउ परेका कृष्ण तामाङले पठाएको अनुसन्धानमा खुलेको छ”, परिसर प्रमुख सुवेदीले भन्नुभयो ।  

पीडित युवती पक्राउ परेकी  बुढाका साथमा विराटनगर गएको अनुसन्धानमा खुलेको छ । हवाइजहाजबाट विराटनगर पुगेकी पीडित युवतीलाई अभियुक्त कृष्ण  र  शाहले भ्यानमा राखेर विराटनगर जलजलाचोकस्थित कालीमन्दिर धर्मशालामा लगेर राखेका थिए । 

पीडित युवतीलाई विराटनगरबाट मोडलिङ गराउने भन्दै पूजाका सामान किनेर जोगबनी पारि लैजाने योजना बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको र पीडित महिलालाई उद्धार गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । “पक्राउ परेका व्यक्तिले मोटो रकम पाउने आशामा युवतीलाई भारत लैजान लागेको अनुन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनाको मुख्य योजनाकार  पोदार भएको परिसरले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये उमेश जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले रु एक लाख नौ हजार ५०० नगद, विभिन्न बैंकको नौ लाख एक हजार बराबरको चेक, कालो रङ्गको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको दुई जन्तर र तान्त्रिक पूजाका सामाग्रीलगायत बरामद गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!