दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा

Posted on: 27 Dec, 2019

पुष ११, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । 

बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बालिकालाई सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१४ निवासी ४१ वर्षीय मामा मइतेसिं लो,  ठूलीआमा चिनीमाया लो र सानीआमा सुनमाया लोको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा बालिका जीवितै फेला परेपछि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएको थियो । रोइरहेकी बालिकालाई फकाउन बोतलको दूध चुसाउँदा नमानेपछि दुई महिनाअघि मात्र सुत्केरी भएकी स्थानीय सुनिता माझीले आफ्नो स्तनपान गराउँदा फकिएपछि उहाँ दैनिक बालिकालाई स्तनपान गराउन अस्पताल जाने गर्नुभएको थियो । बालिकालाई अस्पतालले विशेष सुरक्षाका साथ रेखदेख गरिरहेको थियो । 

जिल्ला प्रहरी कार्यालयको आधिकारिक पत्र लिएर आएको हुँदा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल तथा सञ्चारकर्मीको रोहबरमा बालिकालाई मावलीको जिम्मा लगाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कमल नेपालले बताउनुभयो । बालिकालाई आफन्तको जिम्मा लगाएपछि अस्पतालका नर्सहरु र स्तनपान गराउने महिला पनि निकै भावुक बनेका थिए । 

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा १२ जना र उपचारको क्रममा चारसहित १६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १९ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!