लघु विद्युत उपभोक्ता समितिद्वारा १३ लाख हिनामिना

Posted on: 29 Dec, 2019

सम्राट सिंह | पुष १३, बझाङ | जिल्लाको साइपाल गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको लघु विद्युत आयोजनामा समितिले १३ लाख हिनामिना गरेको छ । साइपाल गाउँपालिका वडा नम्बर १/२ मा निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिले १३ लाख हिनामिना पाइएको हो ।

आयोजना निर्माण गर्न प्रदेश सरकारबाट गत आर्थिक बर्षमा ३५ लाख र गाउँपालिकाबाट ३५ लाख र यस आर्थिक बर्षमा गाउँपालिकाबाट ९९ लाख नब्बे हजार  रकम विनियोजन गरेको थियो ।

झण्डै १ करोड ७० लाख लागतमा निर्माण हुन थालेको उक्त लघु विद्युत आयोजनामा उपभोक्ता समितिले १३ लाख हिनामिना गरेको साइपाल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गोपाल बोहराले बताए । लघु विद्युत उपभोक्ता समितिका अध्यक्ष कम्मान बोहरा र सचिव धनन्जय बोहराले समितिको कुनै बैठक नबोलाई किर्ते हस्ताक्षर गरी रकम निकासा गरेर अनिमियतता गरेको उनको भनाइ छ ।

यसरी निर्माणधिन अवस्थामा रहेको गडघट्ट लघु विद्युत आयोजनामा खुलेयाम रकम हिनामिना हुँदा समेत सरोकारवालाहरुले कारबार्हिमा कुनै चाँसो देखाएको छैन । गतबर्षको रकममा १३ लाख हिनामिना गरेको भएपनि यसबर्ष फेरी गाउँपालिकाले ८ लाख रकम निकासा दिएको छ । 

स्थानियहरुले आर्थिक बर्ष ७५/७६ मा विनियोजन भएको ७० लाखको आयव्यय माग्दा समितिले एक सातासम्म आयव्यय प्रस्तुत गर्न आलटाल गरेको थियो साइपाल गाउँपालिकाका स्थानिय घुरन बोहराले भने एक साता पछि समितिले आयव्यय प्रस्तुत गर्दा १३ लाख रकम हिनामिना गरेको पाइएको छ । उनले गाउँपालिकाले अघिल्लो रकमको आयव्यय नमागी फेरी यसबर्षको रकममा पनि ८ लाख निकासा गर्नुमा आपत्ती जनाएका छन । 

उक्त लघु विद्युत उपभोक्ता समितिको राष्ट्रिय बाणिज्य बैंक बझाङमा समितिका अध्यक्ष कम्मान बोहरा सचिव धनन्जय बोहराको  संयुक्त हस्ताक्षरमा खाता संञ्चालनमा रहेको थियो ।

७ लाख योजना ल्याउँदा प्रदेश सरकारमा खर्च भएको र ६ लाख रकम समितिका अध्यक्ष कम्मान बोहराले गाउँमा सापटी दिएको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिका सचिव धनन्जय बोहराले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!