दलित बस्तीका मुसहरमा उठीबास भइने चिन्ता

Posted on: 30 Dec, 2019

पुष १४, महोत्तरी | आफन्तको सुख र सन्तुष्टि देख्दा पनि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर भक्कानिन्छन् । आफन्तको सुख सन्तुष्टिको ‘डाह’ ले नभई यो सुखले आफ्नो दुर्दशा र पीडा सम्झिँदा सकरीका मुसहरलाई भक्कानो छुट्ने गरेको हो । 

“अई ठाम कत्तेक खुशियाली छै, मुदा हमरा सभके घर उठेवाक् नौवत आयब गेल छै” (यहाँ कस्तो खुशी छ, हाम्रो भने घरबास उठ्ने जस्तो छ), महोत्तरीको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीमा आफन्त भेट्न आउनुभएकी सकरीकी रामराजी सादाले खिन्न हुँदै भन्नुभयो । 

बर्दिवास–१४ मा हास्य कलाकार धुर्मुस–सुन्तलीले पराले झुप्रा भएका ठाउँमा बनाइदिएका पक्की घरले आफन्त खुशी देखिए पनि आफ्नो भने पुस्तैनी बस्ती उठीबास हुने चिन्ताले रामराजीसहित सकरी बस्तीका मुसहरलाई पिरोलेको छ । “बर्दिवासमें धुर्मुस–सुन्तली देवता बैनक आयल, मुदा हमरा सभके मालिक जवानी भैर काज लऽक बुढारीमें खदेड लागल छैथ” (बर्दिवासका मुसहरलाई चाहिँ धुर्मुस–सुन्तली देवताजस्तै बनेर आएछन्, हाम्रा मालिक भने जवानीमा काम गराएर बुढ्याँइमा खेद्न खोज्दैछन्), मनको वह पोख्दै रामराजीले भन्नुभयो । 

छिमेककै लोहारपट्टिका जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन) रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ) मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका सन्तान र नातेदारले आफ्नो झुप्रा रहेको जग्गा अर्कैको नाउँमा रजिष्ट्रेशन गरिदिएर घर भत्काइदिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास सङ्कटमा परेको हो ।

आफ्नो जवानीको सारा जोश र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहर यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई रजिष्ट्रेशन गरिदिएपछि छाँगाबाट खसेजस्ता भएका छन् । “कि करु हजुर जिम्दार साहब् त अई दुनियाँ सऽ चैल गेला” (के गरु हजुर, जिम्दार साहब त यो दुनियाँबाट बिदा भए) सकरीकै सिर्वती सादा बिलौना गर्दै भन्नुहुन्छ , “आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सबके उठ्व चाहैछैथ”, (अहिले आएर उहाँका नातेदार हाम्रो उठीबास गराउन लागि परेका छन् ।)

लोहारपट्टिका जिम्दार स्व रामखेलावनले बसाएका मुसहरले घर झुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेको भन्दै उनका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए । छलफलपछि रामकिशोरकै सहमतिमा छुट्याइएको पाँच कट्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको बस्तीका मुसहरको भनाइ छ ।

विसं २०२२ तिर भूमिसुधार लागू भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा नामसारी गरिदिएका सकरीका बूढापाका बताउँछन् । विसं २०६५ मा भएको छलफलमा जग्गा नाउँमा हुने विमलप्रसाद साहकै रोहबरमा पाँच कट्ठा जग्गा आफूहरुका घर झुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडी दिएको सो बस्तीका मुसहरको भनाइ छ तर, अहिले विमलप्रसादले आफ्नै बस्तीका जगत मण्डललाई आफूहरुको घर झुप्रो भएको जग्गा पास गरी दिएपछि जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सिर्वती सादा मुसहरको भनाइ छ । “झण्डै ५५ वर्षदेखि बसोबास गर्दै आएको जग्गाबाट घर उखाल भन्छन्, थाना, चौकीका हाकिम पनि उनीहरुकै बोली टिप्छन् हजुर.., अब हामी कहाँ जाउँ..?” बस्तीका शनिचर सादाले गहभरि आँशु पार्दै नेपालीमै भन्नुभयो । 

लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका विमलप्रसाद र अहिले जग्गा आफूले किनेको भन्ने जगत मण्डल यी सबै कुराको साक्षी भएर पनि बुझ पचाउन थालेका मुसहरको भनाइ छ । मुसहरको भनाइबारे जिज्ञासा माग्दा विमलले आफ्नो नाउँमा भएको जग्गा पास गरिदिएको र जगतले पैसा तिरेर जग्गा किनेको छोटो प्रतिक्रिया दिनुभयो । मुसहरले अब घर खाली गरिदिन पर्ने वा चलनचल्तीको मूल्य तिर्नुपर्ने विमल र जगतको एउटै भनाइ छ । यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आफूले सहमतिमा पाँच कट्ठा मुसहरका लागि छुट्याइदिएको भए पनि अहिले जग्गा नाउँमा हुने विमलले अर्कैको नाउँमा पास गरी दिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउनुहुन्छ । 

सकरीमा २०२० सालताका २५÷३० वर्षको उमेरमा बसेका मुसहरको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पत्ति भन्ने केही देखिँदैन । पछिल्लो समय सकरीका मुसहरविरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाको षडयन्त्र भएको जिल्लाकै बर्दिवास–५ चेरुका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता तेजप्रसाद अधिकारी बताउनुहुन्छ ।

“रामकिशोरजीले २०६५ सालतिर आफ्नै घरमा गराउनुभएको छलफलमा म, भङ्गाहा गाविस छँदा त्यतिखेरका उपाध्यक्ष मुकुन्द दाहाल, रामकिशोरका नातेदार विमल, मुसहर बस्तीका अगुवा र समन्वयको भूमिकामा केही पत्रकार पनि हुनुहुन्थ्यो” अधिकारीले भन्नुभयो, “त्यतिखेर जग्गाधनी रामकिशोरजी, जग्गा नाउँमा हुने विमलजी र अहिले जग्गा लिने जगतजीसहितको सहमतिमा २५ घर मुसहरलाई पाँच कट्ठा जग्गा छुट्याइएको हो ।” आफ्नो जग्गामा बसाएबापत चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षडयन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्याय विपरीत भएको अधिकारीको थप भनाइ छ ।

बर्दिवासका आफ्नै समुदायका लागि हास्यकलाकार धुर्मुस–सुन्तलीले नमूना बस्ती बनाइदिएका कुराले आफूहरुको अवस्था दाँज्दै सकरीका मुसहरले त्यस्तै दयालु मन आफ्नो बस्तीमा आइपुगे आफ्नो मर्का सुनुवाइ हुनसक्ने आश सँगालेका छन् । “हजुर, हाम्रै नातेदार रहेका बर्दिवासका आफन्तका लागि त दयालु मन भेटिएछन्” सकरी मुसहर बस्तीकी किशुनवती सदा मुसहरले भन्नुभयो,  “त्यस्तै मन भएका हरुले हाम्रो बस्तीको बाटो देखे मन अड्याउने ठाउँ हुन्थ्यो कि..!” 

आफूहरुको दुःख पुकारा सुनेर पराले झुप्राका ठाउँमा पक्की घर बनाइदिने पहलकदमीका लागि कतिपय संस्थाका प्रतिनिधि आए पनि झुप्रे बस्ती भएको ठाउँ अर्कैको नाउँमा दर्ता रहेको बुझेपछि त्यतिकै फर्कने गरेका सकरीका मुसहर बताउँछन् । बेसहारा आफूहरुको अवस्था बुझेर पहलकदमी लिइदिन त्यहाँका मुसहरको सबैसँग पुकारा छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!