रुकुम (पूर्व)मा आलु उत्पादनमा कमी

Posted on: 04 Jan, 2020

पुष १९, रुकुम | रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी आएको छ । जिल्लाको आलु खानको लागि निकै स्वादिष्ट पनि हुने गरेको छ । मानिसले प्राङ्गारिक मलको प्रयोग गर्ने र अर्गानिक आलु उत्पादन गर्ने गर्छन् । 

गत वर्ष १५ क्विन्टल आलु उत्पादन गर्न सफल भएकोमा यस वर्ष भने मुस्किलले त्यसको आधा मात्रै आलु उत्पादन भएको पुथाउत्तरगङ्गा गाउँपालिका–२ का कृषक माया पुनले बताउनुभयो । उहाँजस्तै वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउदा चिन्तित हुनुहुन्छ । उहाँले गत वर्ष तीन क्विन्टल आलु उत्पादन गर्नुभएको थियो । यस वर्ष भने एक क्विन्टल मात्र आलु उत्पादन भएको उहाँको भनाइ थियो । 


पुथाउत्तरगङ्गा गाउँपालिकावासीको लागि आलु मकै पछिको दोस्रो प्रमुख बाली हो । यस वर्ष मकै उत्पादनमा वृद्धि भएको तर आलु उत्पादनमा भने कमी आएको स्थानीय बताउँछन् । उक्त ठाउँमा आलु उत्पादनमा वृद्धि हुँदा मकै उत्पादनमा कमी आउने र मकै उत्पादनमा वृद्धि हुँदा आलु उत्पादनमा कमी आउने गरेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका कर्मसाही घर्तीले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ मैकोटमा गत वर्षमा एक हजार ५०० क्विन्टलदेखि दुई हजार क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने १ नम्बर वडामा मुस्किलले ८०० देखि लिएर एक हजार क्विन्टल मात्र आलु उत्पादन भएको छ । 

यस वर्षमा आलु उत्पादनमा कमी मात्र नभई आलुको दाना पनि सानो फलेको कृषकले बताएका छन् । प्रतिकूल मौसम, प्राविधिक ज्ञानको कमी, माटो परीक्षण नगरी खेती गर्नेलगायतका कारणले आलु उत्पादनमा कमी आएको हुनसक्ने कृषक बताउँछन् । गाउँपालिकावासीले मकै पछिको दोस्रो प्रमुख बालीको रुपमा आलुलाई मान्ने र उत्पादन पनि धेरै गर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । आलु उत्पादनलाई निरन्तरता दिन र कृषकको समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राविधिकको पनि व्यवस्था गर्ने उहाँले बताउनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!