डोटीमा चिसोले ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढे

Posted on: 07 Jan, 2020

पुष २२, डोटी | हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी  बिरामी पर्न थालेका छन् ।  यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “चिसोले बालबालिका र ज्येष्ठ नगरिकमा बढी समस्या देखिएको छ,  बिरामीको चाप बढेको छ ।”  जिल्लाको दिपायल सिलगढी नगरपालिका–४  पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा  दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् ।

चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको  अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।” 

यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्यचौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ प्रमुख गोविन्द विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यहाँका स्वास्थ्यचौकीमा दैनिक १० देखि २० सम्म उपचारमा बिरामी आउने गरेका छन् ।  स्वास्थ्यचौकीमा  निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण  बिरामी थपिने क्रम बढेको छ ।”

  जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।  अहिले दैनिक ४० देखि ५० को सङ्ख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले जानकारी दिनुभयो । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!