पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्षले गर्ने

Posted on: 18 Jan, 2020


पर्वत । छैठौ पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा  यहि माघ ९ देखि १९ सम्म हुन लागेको महोत्सवका उद्घाटन राष्ट्रियसभाका अध्यक्षबाट गर्ने तयारी भएको आयोजकले जनाएको छ ।

महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प्रचारप्रसारलाई तीब्र रुपमा अगाडी बढाइएको हो । महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । महोत्सव आउन अब एक साता मात्रै बाँकी रहँदा प्रचारप्रसारको अवस्थाको बारेमा  पत्रकारहरुलाई पछिल्लो जानकारी गराईको हो ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराउने उनले बताए । 

हामी ३० लघुउद्यमीलाई निशुल्क स्टल उपलब्ध गराउनेछौं । कोही लघुउद्यमी हुनुहुन्छ भने तपाइहरुले निशुल्क रुपमा आफ्नो उद्यमको विक्रिवितरण तथा प्रदर्शनीमा राख्न सक्नुहुनेछ उनले भने  । गण्डकी प्रदेशमा रहेका लघुउद्यमको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको बताउँदै उनले लघुउद्यमको विकासको लागि महोत्सव फलदायी हुने बताए ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अवधिमा भाइरल बालकलाकार कमला घिमिरे, रामकृष्ण ढकाल लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा पालिकास्तरीय पुरुष  भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहने आयोजकले जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!