रवि लामिछाने सहित तीनै जनाले पाए सफाई

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौं । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्दा खेपेका रवि लामिछाने सहित तीनै जनाले सफाइ दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो। 

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो। आत्महत्या दुरुत्साहनको मुद्दामा टेलिभिजन कार्यक्रम प्रश्तोता रबि लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैँया धरौटीमा र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका थिए । 

न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दाको अन्तिम फैसला नभएसम्म लामिछानेलाई पुडासैनीको आत्महत्या सम्बन्धी विषयमा टेलिभिजन कार्यक्रम संचालन नगर्न र नेपाल छाडेर बाहिर जाँदा अनुमति लिन पनि आदेश दिएको थियो ।

लामिछाने, कँडेल र कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले साउन ३० गते पक्राउ गरेको थियो । गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन अनुसार आत्महत्या दुरुत्साहन गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैँयासम्म जरिबानाको सजाँय हुने व्यवस्था बमोजिम लामिछानेसहितका तीन जनालाई सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको थियो । 

लामिछानेसँग विगतमा न्युज ट्वान्टी फोर टेलिभिजनमा सँगै काम गरेका पत्रकार शालिकराम पुडासैनीले आफूले आत्महत्या गर्नुको मुख्य कारण लामिछाने, कँडेल र कार्की भएको भन्ने कुरा मोबाइलमा रेकर्ड गराएर गत साउन २० गते चितवनको एक होटेलमा आत्महत्या गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!