कार्यालय सहयोगीले अकूत सम्पत्ति कमाएपछि...

Posted on: 30 Jan, 2020

माघ १६,काठमाडौँ । एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । यस्तै देखिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबनिमा । 

आयोगका अनुसार काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका तत्कालीन सहयोगी राजेन्द्र बस्नेतले झण्डै रु नौ करोड बराबरको अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ । आयोगले आज अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगको अनुसन्धान अनुसार बस्नेत  र उहाँको परिवारको नाममा रु नौ करोड ७३ लाख ३१ हजार बराबरको सम्पत्ति देखिएकामा झण्डै रु आठ करोड ९८ लाख बराबरको सम्पत्तिको वैध स्रोत खुल्न नसकेको पाइएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी बस्नेतलाई कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो । 

आयोगले भ्रष्टाचार गरी कमाएको रकम जफत गर्नसमेत माग गरेको छ । आयोगका अनुसार कार्यालय सहयोगी बस्नेतको रु ७४ लाख ७३ हजार ३७३ मात्रै वैधानिक रुपमा आर्जन गरेको पाइएको छ । मालपोतमा कार्यालय कार्यालय सहयोगीको रुपमा काम गर्ने बस्नेतको जीवनयापन अस्वाभाविक रहेको भन्दै परेको उजुरीमाथि छानबनि गर्दा उहाँको अवैध आय फेला परेको हो । 

आयोगका प्रवक्ता कोइरालाका अनुसार कार्यालय सहयोगी बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गर्नुभएको थियो । आयोगले सेवा प्रवेशदेखि गत वर्षसम्मको आय तथा खर्चको समेत विश्लेषण गरेको छ । बस्नेतले श्रीमती सीता बस्नेतको नाममा रु छ करोड, ७४ लाख बराबरको घरजग्गा खरिद गरेको, आमाको नाममा रु ६२ लाख ९० हजारको घर निर्माण गरेको देखिएको छ । 

मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्नेतले नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्नेलगायत गैरकानुनी काम गरेको पाइएको छ । यस्तै आयोगले नेपाल प्रहरीका प्रहरी निरीक्षक अरुणकुमार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यस्तै, शुक्लगण्डकी तनहुँको कुमारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक शारदा अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायणप्रसाद साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसैगरी नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक धिरेन्द्रकुमार शाहीलाई पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । उता जिल्ला हुलाक कार्यालय बाँकेका तत्कालीन खरिदार निर्मलाकुमारी केसीको शैक्षिक योग्यता नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!