कोरोना भाइरसको बिषयमा चीनले भन्यो - 'नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौं'

Posted on: 01 Feb, 2020

माघ १८, काठमाडौं । चीनस्थित कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै चीनले नेपाललाई आश्वस्त रहन आग्रह गरेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गरी नेपालस्थित चिनियाँ दूतावासले सो आग्रह गरेको हो । 

दुतावासले जारी गरेको बिज्ञप्तिमा भनिएको छ 'विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।' 

विश्व स्वास्थ्य संगठनले समेत विश्वको स्वास्थ्यमा संकटकालको घोषणा गरेपछि चीनमा रहेका नेपालीहरुको उद्दारका लागि पहल गरिएका छन् । यही अवस्थामा दुतावासले बिज्ञप्ति निकाल्दै भनेको छ 'हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ । विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्छौं ।' 

विज्ञप्तिमा नेपाललाई विश्वस्त हुन भन्दै चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने उल्लेख छ  । नेपालमा पर्यटन बर्ष २०२० चल्दै गर्दा बिज्ञप्तिले त्यस बिषयलाई समेत सम्वोधन गर्दै भनेको छ 'महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौं ।' 

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!