जुम्लामा आगलागी, एक महिलाको मृत्यु

Posted on: 04 Feb, 2020

माघ २१,जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती  भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए ।  आगलागी हुनाका  कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ  । 

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ । यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

आव २०७६/७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ । पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताए ।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेकोे ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताए ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!