आज महाशिवरात्री, पशुपति जाँदैहुनुहुन्छ भने यस्तो छ पशुपति दर्शनको व्यवस्थापन

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | नेपाली हिन्दु धर्मावलम्वीहरुको प्रमुख चाड मध्ये महाशिवरात्रि अथवा शिवरात्री पनि एक हो । विशेषगरी यो भगवान शिवको बिशेष आरधना गरि मनाइने प्रमुख पर्व हो ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने प्रचलन छ । यस पर्वका दिन उपवास गरी 'ऊँ नमः शिवाय' मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।


निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरण वाव्यवसनको प्रतिक हुन । 

यस पटकको शिवरात्री पशुपतिमा भव्य 

आज शुक्रबार दिउँसो ५:४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८:३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।  

दूई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको छ । यस वर्ष पनि पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ सेवन निषेध छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्नेछ । 

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहानदेखिनै पशुपतिका चार ढोका खोलिएका छन् । आज पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएका छन् । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!