बैतडीको झुलाघाटमा कोराना भाइरस सहायता कक्षा स्थापना

Posted on: 23 Feb, 2020

फागुन ११, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आज कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेको हो।

झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको स्वास्थ्य परीक्षण हुने जनाईएको छ। नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए। कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको उनले बताए। 

स्वास्थ्य कार्यालय प्रमुख भट्टका अनुसार सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने तथा रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ। अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले जानकारी दिए।

सीमाबाट फर्कने नागरिकमा कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि आज सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!