इलाममा विश्वमै दुर्लभ जातको चिया

Posted on: 27 Feb, 2020

फागुन १५, काठमाडौं । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।

वि।सं। १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ । जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् । तर, नेपाल सरकारले इलाम चिया बगानसहित सातवटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानुदिन जीर्ण बन्दै गएको छ ।

चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ । नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रहसमेत गरेको छ ।

आइतबार सम्पन्न नगर सभाले इलाम चिया बगानमा रहेको ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण गर्दै चिया सङ्ग्रहालय र अध्ययनन, अन्वेषणको केन्द्रका रूपमा स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । डेढ सय वर्षअघि चीनबाट ल्याएर रोपिएको यहाँको चिया विश्वमै दुर्लभ हुन लागेको जात रहेको चियाविज्ञ सोनाम पाल्जोर लामा बताउँछन् । यो चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो । लामाले भने, “ओरिजिनल क्यामेलिया साइनेसिसचाहिँ अहिले इलाम चिया बगानमा मात्रै छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!