गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात गम्भीर घाइते

Posted on: 05 Mar, 2020

फागुन २२, गोरखा  । गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो । 

दुर्घटनामा  सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ  गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ । 

घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ  । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ । 

घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!