नेकपा लमजुङले तीनमहिने अभियान सञ्चालन गर्ने

Posted on: 07 Mar, 2020

फागुन २४, लमजुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङले पार्टी  एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । आज बँेसीशहरमा भएको तेस्रो पूर्ण बैठकले आगामी चैत, वैशाख र जेठमा  अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा जिल्लाका अध्यक्ष मधु अधिकारीको अध्यक्षता , नेकपाका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । 

बैठकमा प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा नेता गुरुङ र केन्द्रीय सदस्य अधिकारीले  समसामयिक विषयमा धारणा राख्नुभएको थियो । बैठकले पार्टी एकतालाई अझै बलियो बनाउन, सरकारले गरेका राम्रा काम नागरिकको घरदैलोसम्म पुर्याउन, पार्टीको विधान, नीति तथा अभिायनका बारेमा जानकारी दिन र आम नागरिकको गुनासो तथा सुझाव लिनका लागि तीनमहिने अभियान सञ्चालन गर्न लागेको हो ।

बैठकले कोरोना भाइरसका सम्बन्धमा जनचेतना जगाउने खालका कार्यक्रम आम नागरिकसम्म लैजाने निर्णय गरेको छ । नेकपा जिल्ला सचिव धनञ्जय दवाडीका अनुसार बैठकले खासगरी आगामी चैत महिनालाई सदस्यता नवीकरण, बैठक, कार्यविभाजन र जिम्मेवारी बाडफाँडलगायतका काम गर्ने र ठूला भेला तथा सम्मेलन नगर्नेलगायतका निर्णय पनि गरेको छ ।

बैठकले कार्यालय सदस्यमा प्रदेश सदस्यमा  रामचन्द्र पौडेल र सुनिल सुनारलाई थप गर्ने, सचिवालय गठन,  सङ्गठन र आर्थिक विभागसमेत निर्माण गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!