कोरोनाको आतंककै बीच ३६ जनामा डेंगु भेटियो, लक्षण के-के, कसरी बच्ने ?

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको कारण नेपालमा पनि त्यसले भयावह रुप लिन सक्ने आशंकाकै बीच ३६ जनामा डेंगुका विरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेंगुका विरामी भेटिएका हुन् ।

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो डेंगु । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । यो रोगका प्राय लक्षण अहिले फैलिरहेको कोरोना भाइरसको लक्षणसंग पनि मिल्दो जुल्दो हुने हुनाले मानिसहरु यसको संक्रमणले थप आत्तिन सक्ने देखिएको छ । गत बर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने ६० जिल्लामा यसले प्रभाव पारेको थियो । 

डेंगुले घातक रुप लिँदा शरीरभित्र रक्तस्राव हुने र बिरामीको मृत्युसम्मको डर हुन्छ । डेंगु लागेमा मानिसको सेता रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् । यस्तो अवस्थामा अन्य रोगले समेत मानिसलाई सहजै आक्रमण गरि मृत्युको मुखमा पुर्याउन सक्छ । 

गत बर्ष ६० जिल्लामा फैलिएको डेंगु अहिले कोरोनाको संक्रमण संगै फैलिए यसले धेरैको मृत्यु हुन सक्ने देखिएको छ । डेंगु लागेकाहरुलाई कोरोना संक्रमण भए बचाउन थप जटिल हुन्छ किनकि कोरोना भाइरसले बृद्ध र दिर्घरोगि वा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बढी मारेको तथ्य बाहिरिएको अवस्थामा डेंगु नियन्त्रणमा थप सतर्कता अपनाउनु पर्ने देखिएको छ । 

सामान्य डेंगु भएको अवस्थामा ज्वरो आउँछ र उक्त ज्वरो नियन्त्रण गर्न सकिएन भने हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुन्छ र त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । 

यस पटक कोरोना भाइरसको समेत उस्तै प्रकृतिको लक्षण हुने हुनाले कुनै पनि अवस्थामा चिकित्सकलाई आफ्नो स्वास्थ्य चेक-जाँच गराउन उपयुक्त हुन्छ । जसबाट समयमै आफूलाई कुन खालको समस्या देखिएको भन्ने थाहा हुने र समयमै उपचार गरे निको पार्न सकिने हुन्छ । खासमा कोरोना जस्तै डेंगुको पनि कुनै उपचार छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहनुपर्ने हुन्छ । जसबाट डेंगुको संक्रमणबाट हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु हुँदा तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउँछ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्म पुग्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिन्छ । त्यस्तै नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छन् ।

डेंगु  लाग्नबाट बच्नको लागि लामखुट्टेबाट बच्नुपर्छ । पानी जमेका खाल्डा-खुल्डी पुर्ने, कतै पानी जमेको छ भने जम्न नदिने, पानी भएको भाडा, गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जमेको छ भने त्यसमा लामखुट्टेको वृद्धि हुन्छ । त्यसैले त्यस्तो स्थानमा पानी जम्न दिनु हुँदैन । साथै पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको नियन्त्रणनै डेंगुको नियन्त्रणको पहिलो प्रयास हो । 

डेंगु लाग्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा दिउँसोको समयमा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सुत्दा झुल प्रयोग गर्नुपर्छ । त्यस्तै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि सुताउने क्रममा झुलभित्र सुताउनुपर्छ । 

याद राख्नुपर्ने कुरा के पनि छ भने, एकपटक एक प्रकारको डेंगु लागेको व्यक्तिलाई जीवनभर त्यहि प्रकारको डेंगु लाग्दैन । तर अन्य थप खतरनाक प्रकारको डेंगु लाग्न सक्छ । 

विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) अनुसार, विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।

डब्लुएचओका अनुसार प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणले मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार छैन, त्यसैले पनि यसबाट बच्न र सतर्कता अपनाउन आवश्यक छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!