कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

Posted on: 24 Mar, 2020

 चैत ११, (रासस / एएफपी) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार रुपमा बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडा गर्नको लागि ‘लकडाउन’ को घोषणा गर्नु भएको छ । 

सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।

आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रयासका रुपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सार्नु भएको हो । यो नियम तत्काल लागू हुने भएको छ ।  

आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अव घरबाहिर निस्किन निषेध गरिएको छ ।

यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताउनु भएको छ ।  बेलायती प्रधानमन्त्री जोनसनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताउनु भएको छ । 

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ ।  छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 

युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ । उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम भएको समाचारमा  जनाइएको छ ।

यसअघि कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुईजनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरिसकेको छ  । टेलभिजनमा सम्बोधन गर्नु हुँदै चान्सलर एञ्जेला मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताउनु भएको थियो । 

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!