नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ

Posted on: 24 Mar, 2020

चैत ११, काठमाडौँ | कोरोना भाइरस शंकास्पद बिरामीलाई ग्राण्डी अस्पतालले सिधै टेकु अस्पताल रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा कोरोनाको साधारण लक्षण देखिएर पुगेका बिरामीहरुलाई समेत ग्राण्डी हस्पिटलले बिबिध बहानामा सिधै टेकु रिफर गर्ने गरेको हो । 

सोमबार ज्वरो आएको र अलि-अलि घाटी दुखेको भन्दै चेकअपका लागि गएका एक जना यूवालाई कोरोनाको आशंका भन्दै अस्पतालले सिधै टेकु रिफर गरिदियो । कोरोना उपचार र ल्याब परीक्षणका विषयमा स्वास्थ्य मन्त्रालयले गरेको १५ बुँदे निर्णयको ५ औं नम्बरको बुदामा 'कुनै पनि अस्पतालमा Influenza Like Illness भएका अथवा COVID-19 को शंकास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा Isolation मा राखी उपचार गर्ने र परीक्षणको लागि नमूना NPHL मा पठाउने र नमूना परीक्षण Positive आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाई तोकिएको अस्पतालहरूमा प्रेषण गर्ने' उल्लेख छ । तर ग्राण्डी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनलाई ख्याल नगरी शंकाकै भरमा आफ्नो अस्पतालमा आउने बिरामीलाई सिधै रिफर गरेको टेकु अस्पताल स्रोतले जनाएको छ । 

सोमबार ग्राण्डीबाट सिधै रिफर भएर टेकु पुर्याईएपछि विरामीकै अगाडी टेकु अस्पतालका कर्मचारीले समेत आक्रोश पोखेका थिए । एक स्वास्थ्यकर्मीको आक्रोश थियो 'अरु बेलामा यस्तो गर्यौं र उस्तो गर्यौं भन्दै मिडियाबाजी गर्ने हस्पिटलले यसरी शंकाकै भरमा टेकु रिफर गर्न मिल्दैन ।' उनले भने अनुसार ५० शैया भन्दा बढी क्षेमताको जुनसुकै अस्पतालले कोरोनाको लक्षण देखिएको विरामीलाई आफ्नै अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने र परीक्षणको लागि नमूना NPHL मा पठाउने र नमूना परीक्षण Positive आएमा मात्र रिफर गर्न सक्छन् । 

कोरोनाको शंकास्पद बिरामीलाई ग्राण्डीले छुट्टै आइसोलेसन वार्ड तयार गरे/नगरेको बिषयमा जान्नका लागि सोमबार बेलुका अस्पताललाई फोन गर्दा कोरोनाको लागि छुट्टै आइसोलेसन वार्ड नभएको र जति संकास्पद आउँछन् सबैलाई टेकु पठाउने गरेको अस्पतालले बताएको छ । 

सामान्य रुघाखोकीका बिरामीलाई समेत भर्ना नलिएर रेफर गर्न थालिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चाप बढेको छ । रुघाखोकी वा टाउको दुखेकै भरमा बिरामीलाई कोरोना लागेको हुँदैन तर निजी अस्पतालहरुले संकटको अवस्थामा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउन थालेका छन् । यसैको उदाहरण ग्राण्डी अस्पतालले पनि देखाएको हो । 

ग्राण्डी सहित दुई अस्पतालसँग स्पष्टिकरण  

यसैबीच कोरोनाको आशंका भएका विरामीलाई उपचार गर्न नचाहेको भन्दै राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण लिएको छ । मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको हो ।

ती दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएपछि मन्त्रालयले स्पष्टीकरण लिएको हो । सोमबार ती दुवै अस्पताललाई मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ग्रान्डीका पाण्डेले यस सम्बन्धमा मंगलबार मन्त्रालयमा पुगेर लिखित स्पष्टीकरण दिएका छन् । पाण्डेले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । यस बिषयमा अल्काले भने कुनै स्पष्टीकरण दिएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!