प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा

Posted on: 24 Mar, 2020

चैत ११, प्युठान |  सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै प्युठानबाट ३० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मङ्गलबार दिउँसोसम्ममा त्यति सङ्ख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताउनुभयो ।

परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिइएको भए पनि अनावश्यकरूपमा सवारी साधन चलाउने र कतिपय नागरिक लकडाउनको बारेमा अनभिज्ञ भएका कारण पनि आफूले मोटरसाइकल चलाएको बताउने गरेको निमित्त प्रहरी प्रमुख ढकालको भनाइ छ ।

पक्राउ परेकामध्ये जानकारी नभएकालाई जानकारी गराउने र अटेर गरेर मोटरसाइकल चलाएकालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।

यसैबीच जिल्ला भित्रिएका करिब ५०० को हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिएको ढकालले बताउनुभयो । कोरोनाको बढ्दो प्रकोप नियन्त्रणका लागि जिल्लाको ददेरीमा सोमबारदेखि जिल्ला विपद् व्यवस्थापन समितिले हेल्थ डेस्कसमेत सञ्चालनमा ल्याएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!