कोभिड–१९: पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या

Posted on: 25 Mar, 2020

विमलबहादुर विष्ट  | चैत १२, डोटी | कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे  पनि उक्त  सङ्क्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ । कोभिड–१९ को  सङ्क्रमण भएका बिरामीलाइ राख्नका लागि जिल्लामा आइसोलेशन कक्ष तथा शय्या तयारी अवस्थामा भए पनि यहाँका चिकित्सकले पिपिई सेट र एन ९५(कीटाणु पस्न नसक्ने) मास्क अहिलेसम्म पाउन सकेका छैनन् । 

पिपिई सेट र मास्क नपाउँदा चिकित्सक जोखिम मोलेरै अस्पतालमा बिरामी जाँच गर्न बाध्य भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा बबिता गजमेरले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पालहरुमा पिपिई सेट छैन, सङ्क्रमितको सङ्ख्या बढ्यो भने के गर्ने भन्ने समस्या छ ।”

सरकारले सबै स्वास्थ्यकर्मी सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मी पिपिई सेट नहुँदा दिनहुँ जोखिम मोल्दै काम गर्न विवश रहेको शैलेश्वरी अस्पतालका चिकित्सक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचार गर्ने चिकित्सक नै असुरक्षित भएपछि बिरामी कसरी सुरक्षित रहने, सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाइ पिपिई सेट उपलब्ध गराउनु जरुरी छ ।” 

सरकारले जिल्ला अस्पताल डोटीमा मात्रै जम्मा पाँच थान पिपिई  उपलब्ध गराएको छ । जिल्लामा रहेका अन्य निजी क्षेत्रका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा पिपिई सेट नभएको चोपडा अस्पताल दिपायलका निर्देशक हिक्मतसिंह चोपडाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी जति सबै निजी अस्पतालमा छन्, ती अस्पतालका चिकित्सकले पिपिई सेटविना नै जाँच गरिरहेका छन्, बिरामीभन्दा पनि चिकित्सकलाइ बढी जोखिम छ ।” 

यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पिपिई सेटविना नै दिनरात  जोखिम मोल्दै बिरामी  जाँचसहित ज्वरो नापिरहेको शैलेश्वरी अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले बताउनुभयो । त्यस्तै स्थानीय स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यका कर्मचारीदेखि जिल्लासम्मका स्वास्थ्यकर्मी जोखिम मोल्न बाध्य छन् । 

यहाँका अस्पतालमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीसँग एन ९५ मास्क पनि नभएको बताइएको छ । त्यस्तै बिरामीको उपचारका लागि पर्याप्त स्वास्थ्य उपकरण नहुँदा स्वास्थ्यकर्मीलाई झनै समस्या हुँदै आएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचारमा खटिने चिकित्सकका लागि न त पिपिई सेट छ न त पर्याप्त स्वास्थ्य उपकरण कसरी स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्ने, ज्यानै धरापमा राख्नु पर्ने अवस्था आएको छ ।” बिरामीको जाँचमा खटिने स्वास्थ्यकर्मीका लागि पिपिई सेट प्रदेश सरकारसँग माग गरिए पनि अहिलेसम्म उपलब्ध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा गजमेरले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बिरामीको  जाँचका लागि खटिनू भन्ने खबर आउँछ , पिपिई सेट र उपकरण माग गर्दा केही उत्तर आउँदैन, विनासामग्री कसरी उपचार गर्न खटिनू, हामीलाइ नि ज्यानको माया छ  ।” 

कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलाइ उपचार तथा  जाँच गरिसकेपछि पिपिई सेट  जलाउनुपर्ने भएकाले एउटा चिकित्सकलाई कम्तीमा पनि तीनदेखि चार जोर पिपिई सेट आवश्यक पर्ने डा गजमेरले जानकारी दिनुभयो । 

सरकारले पिपिई सेट उपलब्ध नगराएका कारण यहाँका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकले हिजोआज सामान्य ज्वरो, रुघाखोकी लागेका बिरामीको जाँच गर्नसमेत आनाकानी गर्न थालेको स्थानीयवासी बताउँछन् । सरकारले पिपिई सेट, एन ९५ मास्क र अन्य उपकरण उपलब्ध गराउन नसकेका कारण चिकित्सक बिरामी  जाँच गर्न डराउन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसंँग स्वास्थ्य उपकरण नहुँदा जोखिम मोलेर जाँच गर्न बाध्य छौंँ, हामीलाई नै समस्या भए जिम्मेवार को हुने ?”

- रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!