सरकारले दिने बिद्युत छुटले भाडामा बस्नेलाई राहत मिल्नेमा शंका

Posted on: 26 Mar, 2020

चैत १३, काठमाडौँ | सरकारले घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । तर यो निर्णयले सहरका अधिकांश घरभाडामा बस्नेलाई भने राहत दिंदैन । 

१५० यूनिटसम्म विद्युत खपत् गर्दा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन प्राधिकरणलाई मन्त्रालयको निर्देशन दिएको छ । तर सरकारलाई हेक्का हुनु पर्छ कि सहरमा एकै घरमा १० परिवार वा सो भन्दा बढीसम्म पनि बस्ने गर्छन् । मानौं ४ तल्लाको घर छ, एकै घरमा ४ परिवार बस्छ भने इन्डक्सन चुल्होको भरमा खाना पकाउदा महिनामा एकै परिवारले  ५० भन्दा बढी युनिट बिद्युत खपत गर्छ । यसको मतलब ४ परिवारले २०० युनिट भन्दा बढी बिद्युत खपत गर्छ । जसलाई सरकारको अहिलेको २० प्रतिशत छुटको स्किमले समेट्दैन । 

त्यसमा पनि अधिकांश घरबेटीले कति बिद्युत उठ्यो भन्ने कुरा भाडामा बस्नेलाई भन्दैनन् । कतिपय भाडामा बास्नेले प्रति युनिटकै १५ रुपयाँसम्मले बिजुलीको बील तिर्नुपर्ने बाध्यता छ । 

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण खाना पकाउने ग्याँस अभाव हुने सम्भावित अवस्थालाई मध्यनगर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत्प्राधिकरणलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत मन्त्रालयले जनाएको छ । 

कोरोनो संक्रमण रोक्न सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै विद्युत् खपत्मा भारी गिरावट आएको छ। लकडाउनका कारण उद्योग, कलखारना, व्यवसाय बन्द भएसँगै विद्युत् खपतमा कमी आएको हो।

यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!