पाँचथरमा विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न शुरु

Posted on: 29 Mar, 2020

चैत १६, पाँचथर | पाँचथरमा कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकाहरुलाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनहरुमा राख्न शुरु गरिएको छ ।

चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधारमा शनिबारदेखि क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवम् कोभिड–१९ जोखिम न्यूनीकरण एवम् समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो । 

जिल्लाका स्थानीय तहले शुक्रबारसम्म १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिवारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले वताउनुभयो ।

फिदिमले बनायो द्रुतकार्य टोली

फिदिम नगरपालिकाकाले कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रुत कार्य टोली गठन गरेको छ । नगरपालिकाको स्वास्थ्य एकाइका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने बिरामीलाई सचेत गराउने, उपचार, उद्धार एवम् उपल्ला निकायमा सिफारिश गर्नेछ । नगरपालिकाभित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले वताउनुभयो । 

हरियो साग बाँड्दै वडाध्यक्ष

 फिदिम नगरपालिका वडा नं १ ले वडावासीलाई हरियो साग वितरण गरेको छ ।  शिवालय मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने शनिबारे हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बन्द गरिएपछि वडाले वडावासीलाई साग वितरण गरेको हो । वडाध्यक्ष गजाधर भट्टराईको सक्रियतामा रानीटार, नाम्दु तथा ढोडेनी क्षेत्रमा हरियो साग सङ्कलन गरी वडावासीलाई वितरण गरिएको हो । 

फाल्गुनन्दका जनप्रतिनिधिको एक महिनाको सुविधा  कोषमा

 फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाको सुविधा गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा  अन्य महामारी र दैवी विपत्तिको रोकथाम, सतर्कता, राहत वितरण तथा उद्धारका लागि विपत् व्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो । 

बैठकले उक्त कोषमा गाउँ कार्यपालिकाका सबै सदस्यको एक महिनाको सुविधा जम्मा गर्ने तथा आगामी दिनमा गाउँपालिकाको बजेट र दाताको सहयोगसमेत सङ्कलन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!