रोल्पा रुकुमको सिमानामा हेल्पडेस्क

Posted on: 29 Mar, 2020

चैत १६, रुकुम | रुकुमपूर्व र रोल्पाको सीमानाकामा हेल्पडेस्क स्थापना गरिएको छ । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लाको भुमे गाउँपालिका–९ चुनबाङले रोल्पासँग सिमाना जोडिएको मुख्य नाका सिमलबोटमा हेल्पडेस्क स्थापना गरेको हो । 

सरकारले लकडाउन घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै मानिस रोल्पा रुकुम गर्ने क्रम नरोकिएपछि सीमानाकामा हेल्पडेस्क स्थापना गरिएको वडाध्यक्ष प्रवेश पुनले बताउनुभयो । रोल्पाका मानिस चुनबाङ भित्रिने मुख्य नाका सिमलबोट रहेको भन्दै त्यस ठाउँमा स्थापना गरिएको हेल्पडेस्कमा जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मीसहितको टोलीलाई खटाइएको उहाँले बताउनुभयो । 

हेल्पडेस्कमा बस्ने टोलीले रोल्पालगायतका अन्य जिल्लाका मानिसलाई जिल्ला प्रवेश गर्न नदिने र आफ्नै वडाका नागरिकको भने विवरण सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने छ । त्यसैगरी उनीहरुलाई कोरोना भाइरसको लक्षण र यसबाट बच्ने उपायका बारेमा पनि जानकारी गराइने वडा अध्यक्ष पुनले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!