एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

Posted on: 01 Apr, 2020

चैत १९, सिंगापुर (रासस–एएफपी)  । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । 

गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो । 

बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ । बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ । 

विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो । 

एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए । साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताउनुभयो ।

यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!