रुम्जाटारमा १२ कामदार अलपत्र

Posted on: 02 Apr, 2020

चैत २०, ओखलढुङ्गा  । ओखलढुङ्गाको रुम्जाटारमा १२ मजदुर अलपत्र परेका छन् । स्थानीय तौलीकुलो सिँचाइ आयोजना चार्खुमा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ कामदार अलपत्र परेका हुन् । 

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम अघि नबढेको र घर जाने अवस्थासमेत नहुँदा आफूहरु समस्यामा परेको सुर्खेतका चन्द्रबहादुर कार्कीले बताउनुभयो । काम रोकिएपछि बिहान बेलुकाको खानाको व्यवस्थापनसमेत नभएको उहाँको गुनासो छ । “काम रोकियो, घर जाने अवस्था पनि भएन । यहाँ के खाएर बस्नु, हामी त झनझन समस्यामा फस्यौँ”, कार्कीले रासससँग भन्नुभयो, “ठेकेदारमार्फत यहाँ आएको । काम नभएपछि ठेकेदारले पैसा दिने कुरा गरेनन्, सरकारले दिने भनेको राहत कसरी पाइन्छ त्यो पनि थाहा छैन ।” 

चौध कामदारमध्ये दुई जना आफन्तको सहारामा त्यहाँबाट हिँडिसकेका छन् । ठेकेदारले काम रोकिएपछि आफ्नो व्यवस्थापन आफैँ गर्नु भनेकाले समस्यामा परेको इलामका वर्तमान लिम्बूको दुःखेसो छ । घरजाने व्यवस्था मिलाइदिन अन्यथा बसोबास र खानपानको व्यवस्थापन गरिदिन कामदारहरुले माग गरेका छन् ।

आयोजनाको रकम निकासा नभएकाले सबै रकम कामदारलाई भुक्तानी दिन नसकिएको ठेकेदार कम्पनी टाईगर रुम्जाटार हलेसी यसुदा जेवीका सोमबहादुर विकले बताउनुभयो । अहिलेसम्म आफूले खाना र बासको व्यवस्थापन गर्दै आएको र सरकारले दिने राहतका विषयमा पहल गरिहेको उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले स्थानीय सरकारमार्फत राहत वितरणको कार्य भइरहेकाले सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । “विपन्न, गरिब र मजदुरलाई राहत सहयोग गर्ने कार्यक्रम स्थानीय तहमार्फत भइरहेको छ, नगरपालिकाले वितरण शुरु गरेको हुनुपर्छ त्यहाँ सम्पर्क गरौँ, खान नपाएर अलपत्र नपरौँ”, उहाँले भन्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!