छैटौं कोरोना संक्रमित ६५ बर्षकि बृद्ध महिला, एकै प्लेनबाट आएका तेश्रो संक्रमित

Posted on: 02 Apr, 2020

चैत २०, काठमाडौं । नेपालको छैटौं कोरोना संक्रमित व्यक्ति बागलुङकि ६५ बर्षीय बृद्धा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका हुन् । 

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् । 


पाँच संक्रमित को-को ? 

नेपालमा पहिलो संक्रमित व्यक्ति चीनबाट आएका थिए जो निको भईसकेका छन् । हाल ५ जना उपचारकै क्रममा छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । 

त्यसपछि तेस्रो व्यक्तिमा कोरोना भेटियो । उनि धादिङका ३२ बर्षीय पुरुष थिए । उनि एयर अरेवीयाबाट नेपाल आएका थिए । त्यस्तै चौथो व्यक्ति धनगढीका पुरुष थिए । त्यसपछि पाँचौं व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो । उनि बाग्लुङकि थिइन । उनि पनि कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन । 

स्वास्थय मन्त्रालयका अनुसार  हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!