काठमाडौँबाट नक्कली चिकित्सक बनेर झापा आएका दुई युवा पक्राउ

Posted on: 05 Apr, 2020

चन्द्रकला भण्डारी | चैत २३, भद्रपुर | इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको  भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा  पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा  धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाडौँदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो । दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ भने सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ ।  प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको बताउनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!