मुख्यमन्त्री राईद्वारा प्रयोगशाला निरीक्षण

Posted on: 10 Apr, 2020

चैत २८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको आज निरीक्षण गर्नुभयो  

सो अवसरमा मुख्यमन्त्री राईले प्रयोगशाला काठमाडौँ पछिको ठूलो क्षमताको रहेको र  दैनिक २०० सम्मको थ्रोट स्वाब नमूना परीक्षण गर्न सकिने जानकारी दिनुभयो । सो अस्पतालका प्रमुख डा संगीता मिश्राले आजै साँझदेखि स्वाबको परीक्षण शुरु हुने जानकारी दिनुभयो । पहिलो चरणमा ६०० को नमूना सङ्कलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पतालका विज्ञ बलराम गौतमले बताउनुभयो । 


यसैबीच क्वारेन्टाइनमा बसेकाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) का लागि  प्रदेशका चार स्थानमा टोली खटाइएको छ ।  मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोतमा क्वारेन्टाइनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिनुभयो । प्रदेशका १४ वटा जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि आवश्यक सामान, किट र पिपिइ पठाइसक्ने बताउनुभयो । आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट यहाँ ल्याइएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!