प्रधानमन्त्री कार्यालयलाई प्रेस काउन्सिलले सोध्यो- 'किन भ्रम फैलाएको ?'

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा कडाउनका कारण रोकिएकाहरु शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान पाइने भनी सूचना प्रकाशित भएको थियो । पछि त्यसमा अपडेट भनी प्रदेश र स्थानीय सरकारले मान्यता नदिएका कारण उक्त निर्णय फिर्ता भएको जानकारी दिइको थियो । तर पछि लेखिएका सबै सूचना डिलिट गरिएको थियो । 

विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला प्रधानमन्त्री कार्यालयको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भई जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको काउन्सिलले बताएको छ । 

काउन्सिलले आधिकारिक सूचनाको मूल स्रोतमै पटक-पटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको तर्फ सचेत हुन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ । त्यस्तै आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई आग्रह गरेको छ ।

‘यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको छ’ पत्रमा भनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!