बैतडीमा तीनजना आइसोलेशनमा भर्ना

Posted on: 15 Apr, 2020

वैशाख ३, बैतडी | जिल्ला अस्पताल बैतडीमा तीनजनालाई आइसोलेशनमा भर्ना गरिएको छ । सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि आज आइसोलेशनमा भर्ना गरिएको अस्पतालका अहेब हरिश पन्तले जानकारी दिनुभयो । 

युवती अस्पताल पुर्याउन आएका उनका बुबा र भाइलाई आइसोलेशनमा राखिएको छ । कोरोनाको आशङ्का गरिएकी युवतीलाई आइसोलेशनमा राखिएको हो । युवतीको र्यापिड डाइग्नोस्टिक टेष्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । युवतीको स्वास्थ्य अवस्था अहिले समान्य रहेको र सुधार नभए थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । 

उनीसँगै आएका दुईजना भने सामान्य रहे पनि युवतीसँगै आएकाले आइसोलेशनमा राखिएको डा जोशीले बताउनुभयो । यसअघि कोरोनाको आशङ्कामा तीनजनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको भएपनि तिनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!