धादिङका दुई र हेटौडाका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Posted on: 17 Apr, 2020

वैशाख ५, काठमाडौँ | र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवा सहित छ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको काठमाडौँ र हेटौंडामा  पीसीआर रिपोर्ट पारीक्षण गर्दा नेगेटिभ आएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङका एक युवा र ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका अर्का एक युवाको जिल्लामा आरडीटी गर्दा रिर्पोट पोजेटिभ भेटिएको थियो । दुवै जनाको स्वाब टेकु स्थित राष्ट्रिय प्रयोगशालामा परिक्षण गर्दा नेगेटिभ आएको छ ।

ज्वालामुखी गाउँपालिकाका युवालाई र्यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ देखिएपछि एम्बुलेन्सले बोक्न समेत नमानेको थियो । कोरियाबाट ४२ दिन अघि फर्किएका युवामा कोरोना पोजेटिभ देखिएको थियो । जसको कारण सिङ्गो गाउँपालिका अलर्ट गरिएको थियो । त्रिपुरासुन्दरीका युवालाई भने जिल्ला अस्पतालको एम्बुलेन्स गएर गाउँबाट ल्याएको थियो । 

त्यस्तै हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो। उनीहरुहरुलाई आइसोलेसनमा राखिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!