अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने, एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि

Posted on: 18 Apr, 2020

वैशाख ६, कास्की | कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा कडाइका साथ पालना गराउन सो निर्णय गरेको बताइएको छ ।

प्रदेशको एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिनुभयो ।

 मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनलाई समेत नियन्त्रणमा राखिने भएको छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरणकार्यलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने र राहत वितरणमा असङ्गठित क्षेत्रका मजदुर, श्रमजीवी वर्ग र न्यून आय भएका व्यक्तिलाई निष्पक्ष वितरणका लागि प्राथमिकीरण गर्ने र सोको अभिलेख राखिने भएको छ ।

जिल्ला तथा स्थानीय तहमा व्यवस्था भएका क्वारेन्टाइनगृहलाई मापदण्डअनुसार बनाउन निर्देशन दिने र आइसोलेस रूपमा तयार पारिएका कक्षलाई कोभिड क्लिनिकका रूपमा उपयोग गर्न निर्देशन दिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विदेशबाट आएका व्यक्तिको परिवारको र्यापिड डायगेनेष्टिक टेष्ट (आरडिटी) र पिसीआर परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ । मस्जिद, मदरसा, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिकस्थललाई पूर्णत बन्द गर्ने तथा साँझ बिहान, बजार क्षेत्रमा किनमेलका क्रममा हुने भीडभाडलाई कडाइका साथ अनुगमन र नियन्त्रण गर्ने, नाकाबाट प्रवेश गर्ने सवारी साधनलाई ‘डिसइन्फेक्सन’ गर्न स्प्रे गर्ने र चालकको आरडिटी परीक्षणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि

दमौली – बन्दाबन्दीका कारण औषधि लिन जान समस्यामा परेका तनहुँका एचआइभी सङ्क्रमितलाई तनहुँ सहयोगी समूहले घरघरमै औषधि वितरण शुरु गरेको छ । एचआइभी सङ्क्रमितको अधिकारका लागि काम गर्ने उक्त संस्थाले बन्दाबन्दीका कारण प्रभावित उनीहरुलाई घरमै पुगेर एन्टिरेट्रोभाइरल (एआरभी) औषधि वितरण शुरु गरेको हो ।

दैनिकरूपमा नियमित सेवन गर्नुपर्ने उक्त औषधि सकिएका सङ्क्रमितलाई सहज होस् भनेर सङ्क्रमितको घरमै पुगेर औषधि वितरण भइरहेको संस्थाका अध्यक्ष श्रीराम कँडेलले जानकारी दिनुभयो । “बन्दाबन्दीले सवारीसाधन नचल्दा एचआइभी सङ्क्रमितलाई समस्या भइरहेको बेला नियमितरूपमा सेवन गर्नुपर्ने औषधि घरमै पुर्याउने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

एचआइभी सङ्क्रमितलाई औषधि पुर्याउनका लागि संस्थाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको छ । कतिपय ठाउँमा भने स्वास्थ्य कार्यालयले स्वास्थ्यचौकीसम्म पुर्याईदिने र त्यहाँबाट एचआइभी सङ्क्रमितले औषधि लिने गरेका छन् । जिल्लामा कूल ३१३ एचआइभी सङ्क्रमित रहेको संस्थाले जनाएको छ । बन्दाबन्दी अगाडि २०० जनाले दुई महिनाका लागि पुग्ने औषधि संस्थाबाट लिएर गइसकेका र बाँकी रहेकालाई भने घरमै पुगेर औषधि वितरण गरिने सस्थाका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

उक्त औषधि नेपाल सरकारबाट निःशुल्करूपमा उपलब्ध हुन्छ । बाहिर उक्त औषधि खरिद गर्न नपाइने भएकाले संस्थाले नै जिल्लामा यो औषधि सङ्क्रमितलाई वितरण गर्ने गरेको छ । एचआइभी सङ्क्रमितले भाइरसको प्रभाव कम गर्न दैनिकरूपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर सङ्क्रमितको स्वास्थ्यमा असर पर्ने बताइएको छ । 

नदीमा डुबेर युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१३ बेलवासस्थित सेती नदीमा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १९ वर्षीय विक्रम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुसार पौडी खेल्ने क्रममा नदीमा डुबेर थापाको मृत्यु भएको हो । युवकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । नदीमा डुबेर तनहुँमा एक साताको अवधिमा तीन जनाले ज्यान गुमाएका छन् ।

भिडियो कन्फरेन्समार्फत गाउँपालिकाको बैठक

आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक शुक्रबार विद्युतीय (भिडियो कन्फरेन्स) प्रविधिमार्फत सम्पन्न गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण गाउँपालिकाले जिल्लामै पहिलोपटक कार्यपालिकाको बैठक विद्युतीय प्रविधिमार्फत सम्पन्न गरेको हो । 

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन गरिएको अवस्थामा गाउँपालिकाको बैठक बस्नका लागि प्रविधिको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । बैठकले कोरोना, राहत वितरण र आरडिटी परीक्षणको बारेमा समीक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गत राहत प्राप्त गरेका नागरिकको बील भर्पाइसमेत संलग्न गरी भुक्तानीका लागि वडाध्यक्षले सिफारिस गर्ने सो बील भर्पाइअनुसारको रकम गाउँपालिकाले कोरोनो रोकथाम तथा नियन्त्रण कोषबाट भुक्तानी उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । 

सो गाउँपालिकाबाट वितरण गरिएको राहत चामलमा अखाद्य रहेको भनी आँबुखैरेनी गाउँपालिका–३ बस्ने सुरेन्द्रकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत बनाई आवश्यक कारवाही गर्नका लागि आह्वान गरेको हुँदा उक्त चामल तत्कालै जफत गरी गुणस्तर ल्याब टेष्टका लागि पठाइएकामा उक्त चामल गुणस्तरअनुसारको रहेको पाइएकाले ढुक्क भएर उपभोग गर्न सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरिएको छ । गाउँपालिकाबाट वितरण गरिएका तीन परिवार र हिमान्सु टेड्र्रसबाट चामलको नमूना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । 

त्यस्तै चैत १ गतेदेखि हालसम्म विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १७ जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको र अन्य कोही छुट भएमा यथाशीघ्र आरडिटी परीक्षण गर्ने निर्णय बैठकले गरेको गाउँपालिकाले जनाएको छ । 

राहत कोषमा जनसहभागिता बढ्दै

बलेवा – बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्वि भएको हो ।

काठेखोलाले सो कोषमा सहयोग गर्ने दाताको नाम नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । हालसम्म गाउँपालिकाको कोषमा संस्था र व्यक्ति गरी ६२ जनाले सहयोग गरेको अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । सो कोषमा सबैभन्दा बढी रु एक लाख प्रभु बैंकका सिईओ अशोक शेरचनले सहयोग गर्नुभएको छ भने सोही ठाउँका सामान्य परिवारले कम्तीमा रु दुई हजारसम्म कोषमा जम्मा गरेको तथ्याङ्क छ ।

काठेखोलाको कोष अहिले बढेर रु २७ लाख ४६ हजार ९११ पुगेको छ । कोषबाट विभिन्न स्वास्थ्य सामग्रीको खरिद, निःशुल्क एम्बुलेन्स सेवाको सञ्चालनदेखि विपन्न तथा मजदुरका लागि रहात बाँड्नेसम्मका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताउनुभयो । “कोषमा धेरै सङ्घ÷संस्थाले उत्साहजकरूपमा सहयोग गरिरहनुभएको छ”, अध्यक्ष थापा भन्नुहुन्छ, “स्थानीय सरकारसँग सर्वसाधारणको जुन विश्वास देखियो यो हामी मर्न दिन्नौँ ।”

 बागलुङ नगरपालिकाको कोषमा रु ६५ लाख ३२ हजार ४३३ पुगेको छ । नगरले आन्तरिक स्रोतको परिचालन गरेर रु ५० लाख जम्मा गरेर कोष खडा गरेको थियो । गण्डकी सरकारले पठाएको रु १० लाख सोही कोषमा राखिएको छ । नगरका कर्मचारीको मासिक तलबबाट केही प्रतिशत कट्टा जम्मा भएको रु तीन लाख दुई हजार पनि सोही कोषमा छ । अन्य दाताहरुबाट रु दुई लाख ३० हजार ४३३ कोषमा जम्मा भएको छ ।

जिल्लाका दुई सहकारी संस्थाले समेत कोषमा रकम जम्मा गरेका छन् । जिल्ला दुग्ध उत्पादक सङ्घले ५० हजार र आदर्श सञ्चार सहकारी संस्थाले रु ५० हजार कोषमा जम्मा गरेका हुन् । कोषबाट राहत, औषधि उपचार, सामग्री खरिद र उद्वारलगायतका काम चलिरहेको योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । नगरका जनप्रतिनिधिको भने सुविधाकट्टा भएकाले कोषमा कुनै पनि योगदान गरेका छैनन् । 

यसैबीच बागलुङ नगरपालिकाले सञ्चालन गरेको खाद्य बैंकबाट हालसम्म बागलुङ नगरपालिकाका चार वडाका ३४९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका छन् । वडा नं १ का पाँच, २ का ८७, ३ का ७३ र ४ का १६९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका हुन् । बिहीबारसम्म खाद्य बैंकले तीन हजार २७० किलो चामल, ३२९ किलो दाल, ३२७ साबुन, ३२९ पोका नुन र ३२९ पोका तेल वितरण भएको सुवेदीले बताउनुभयो । रास

यस बिषयमा तपाइको प्रतिक्रिया...!