जनकपुरधाममा रुपयाँ छरेर फरार भएका नन्द-भाउजू पक्राउ

Posted on: 18 Apr, 2020

वैशाख ६, जनकपुरधाम । जनकपुरधाममा रुपयाँ छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम -७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरुलाई सिसिटिभी क्यामराको आधारमा पक्राउ गरिएको हो । 

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा करिव २:३० बजे  १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।  

उनीहरुले रकम किन छरेको हो ? भन्ने विषयमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए ।

त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!