क्वारेन्टाइनबाट भाग्नेको खोजी

Posted on: 20 Apr, 2020

वैशाख ८,  लमजुङ (रासस) | बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ ।

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बँेसीशहर आइपुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय  मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उहाँले जानकारी दिनुभयो । 

उक्त क्वारेन्टाइनमा नौ जना छन् । त्यहाँ सशस्त्र  र नेपाल प्रहरीका दुईदुई  प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् ।  उनकी आमा  र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताउनुभयो ।

मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए । घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ ।

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!