दक्षिणी धादिङमा चट्याङबाट दुईको मृत्यु, सात घाइते

Posted on: 21 Apr, 2020

वैशाख ९, धादिङ | दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् ।

चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । गम्भीर घाइते अर्का एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो । घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले जानकारी दिनुभएको छ ।

घाइते भएका चार महिला र दुई पुरुषको भुुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थल पृथ्वीराजमार्गको महादेवबेँसीबाट चार घण्टाको दूरीमा दक्षिणतर्फ रहेको छ । घटनास्थल क्षेत्रमा पानी परिरहेकाले कच्ची सडक निर्माण भए पनि सो क्षेत्रमा सवारी साधन लान नसकिने अवस्थामा रहेको छ । सो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्ने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!