उदयपुरमा २२ जना कोरोना संक्रमित, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

Posted on: 21 Apr, 2020

वैशाख ९, काठमाडौँ | आज उदयपुरको भुल्केमा थप ८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमित भटिएपछि प्रदेश सरकारले आजैदेखि पुरै जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । उदयपुरको भुल्केमा मात्र कोरोना संक्रमितको शंख्या २२ पुगेको छ ।  

आज कोसी अञ्चल अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा उदयपुरका थप ८ जनामा कोरोना संक्रमित फेला पारिएको हो । कोसी अस्‍पतालमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गरिएको थियो । 

मस्जिदमा बसेका १२ जनामा कोरोना संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका अन्य ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमुना शनिबार संकलन गरिएको थियो । जसमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८ जनाको रिपोर्टमा कोरोना भेटिएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । 

जिल्लामा कोरोनाको संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी बनाउने तथा जिल्ला पूर्ण रुपमा सिल सिल गर्ने निर्णय भएको हो । निर्णयसंगै उदयपुरबाट अन्य जिल्ला छिर्ने नाकाहरुमा समेत कडाई हुनेछ । 

जिल्ला सिल गरेर लकडाउन कडा गरिने र संक्रमित भेटिएको भुल्केका सबै नागरिकको स्वाब परीक्षण गरिने बताइएको छ । भुल्केका वासिन्दाको कन्ट्रयाक ट्रेसिङ गरि उनीहरुलाई पनि परीक्षण गरिने नीति लिईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!