नवलपरासी प्रहरीद्वारा चन्दका भतिजा नियन्त्रणमा

Posted on: 23 Apr, 2020

वैशाख ११, नवलपरासी | नेत्रविक्रम चन्दका भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो । 

बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न  जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा आज दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले परासीको बुद्धचोकबाट  पक्राउ गरेका हुन् । अभियुक्त नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुरका छोरा हुन् । 

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी  नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु चन्द समूहको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन्  । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!