नवलपरासीमा प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

Posted on: 24 Apr, 2020

वैशाख १२, नवलपरासी | प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो  ।

झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए । राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न पुगेका प्रहरीसँग स्थानीयवासीको झडप भएको हो । समूहमा आएका केही व्यक्तिले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीचौकी गोबरहियामा कार्यरत प्रसनि चामबहादुर ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँको टाउकामा चोट लागेको छ । घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाइएको छ । रामग्राम नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत असङ्गठित क्षेत्रका मजदूर तथा अति विपन्नवर्गका लागि राहत वितरण शुरु गरेको थियो ।

उक्त वडामा राहत वितरण भइरहेका अवस्थामा  एक समूह आएर हुनेखानेलाई पनि राहत दिनुपर्ने भन्दै विवाद निकालेर वडा कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष जीतबहादुर गोसाईँले जानकारी दिनुभयो । तालाबन्दी खोल्न पुगेको प्रहरीसँग समूहमा रहेका स्थानीयवासीले आक्रमण गरेको उहाँले बताउनुभयो । उक्त वडाका २०० घरधुरीका लागि राहत वितरण गरिएको थियो । 

पत्रकारलाई स्यानिटाइजर र मास्क

नेपाल पत्रकार महासङ्घ  नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)ले जिल्लाका सञ्चारगृह र पत्रकारलाई स्यानिटाइजर र मास्क वितरण गरेको छ । सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले पत्रकार महासङ्घलाई आज ७० थान ह्याण्ड स्यानिटाइजर, १० थान एन –९५ मास्क र सात सय थान सर्जिकल मास्क उपलब्ध गराउनुभएको हो ।

 कोभिड–१९ को रोकथाम तथा नियन्त्रण अभियानमा सञ्चारक्षेत्रबाट अग्रपंक्तिमा रही फिल्डमा खटिएका पत्रकारलाई स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको नगर प्रमुख थापाले बताउनुभयो । जिल्लाका छ  रेडियो र एउटा टेलिभिजनसहित पत्रकारलाई ती सामग्री उपलब्ध गराइएको महासङ्घका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!