स्वदेश फर्केका नेपाली हर्षित, आरडिटी किटको अभाव

Posted on: 05 May, 2020

वैशाख २३, बैतडी | एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् । कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताउनुभयो । “विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ”, उहाँले भन्नुभयो, “विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ ।”

भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताउनुभयो । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभएको छ । भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।” 

झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए । 

क्वारेन्टाइन अनुगमनमा तीव्रता

सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिन सबै ठाउँमा अनुगमन गर्न थालिएको हो । 

अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ ।” 

दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेका बताइएको छ । गत बिहीवार सीमानाका झुलाघाट हँुदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए । 

आरडिटी कीटको अभाव

बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो ।  जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ । जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उहाँले बताउनुभयो । 

जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५४८ को आरडिटी गरिएको छ । यस्तै ४३० को स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो ।

जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।”

एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ  । वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “वडाका प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ ।” टोलमै सामाजिक सुरक्षाभत्ता पाउँदा स्थानीय नागरिक पनि खुशी भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!