भारतसँग सिमाना जोडिएका ११ जिल्ला सहित नेपालका १५ जिल्लामा कोरोना संक्रमण (विवरण सहित)

Posted on: 08 May, 2020

वैशाख २६, काठमाडौँ | शुक्रबार बिहानसम्म नेपालका १५ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ११ जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला हुन् । 

बिहीबार मात्र कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ भने संक्रमणको स्थिति भारतसँग सिमाना जोडिएका तराईका   ११ जिल्लामा छ । बिहिबार दुई जनामा देखिएको संक्रमण पनि भारतसँगनै सम्बन्धित छ । उनीहरु भारतबाट आएका हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको छ । 

भारतसँग सिमाना जोडिएका ११ जिल्लाको विवरण: 

१. कंचनपुर - १ जना

२. कैलाली - ४ जना*

३. बाँके - २३ जना 

४. कपिलवस्तु - २ जना 

५. रुपन्देही - १ जना

६. चितवन - २ जना*

७. पर्सा - २४ जना 

८. बारा - २ जना 

९. रौतहट - ३ जना 

१०. धनुषा - १ जना 

११. झापा - २ जना 

११ जिल्लामा कुल संक्रमितको शंख्या:  ६५ जना 

माथिका बिभिन्न ११ जिल्ला मध्ये कैलाली र चितवन गरि तीन जना संक्रमितको ट्राभल हिस्ट्री भारतबाहेक तेश्रो मुलुकसँग जोडिएको छ । त्यस्तै सबैभन्दा बढी संक्रमित रहेको उदयपुर र भोजपुर भारतसँग सिमाना नजोडिएको भएपनि ट्राभल हिस्ट्री अनुसार भारतबाटै संक्रमित आएको र बाँकीलाई संक्रमित बनाएको हुनसक्ने अनुमान छ । यी बाहेक बागलुङमा दुई जना र काठमाडौँमा पाँचजना संक्रमित छन् । बागलुङ र काठमाडौँका संक्रमित तेश्रो मुलुकबाट आएको र सबै निको भईसकेको अवस्था छ । 

प्रदेश १ मा संक्रमित भेटिएका मध्ये ६ जना निको भएर घर फर्कीसकेका छन् भने थप ८ जना शुक्रबार डिस्चार्ज गर्ने तयारी भईरहेको बुझिएको छ । ट्राभल हिस्ट्रीको आधारमा भन्ने हो भने नेपालमा संक्रमित भेटिएका मध्ये ८५ प्रतिशत भन्दा बढी भारतसँग जोडिएको आंकलन गर्न सकिन्छ । सुरुवातमा संक्रमित भेटिएकाहरु अधिकांश तेश्रो मुलुकसँग जोडिएका थिए । 

प्राप्त सरकारी तथ्यांक अनुसार बिहीबारसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ११ वटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् ।


कुन जिल्लामा कति जना संक्रमित निको भए ? 

१. उदयपुर: ६ जना 

२. काठमाडौँ: ५ जना 

३. पर्सा: ३ जना 

४. कैलाली: ३ जना 

५. बागलुङ: २ जना 

६. रौतहट: १ जना 

७. कंचनपुर: १ जना 

८. चितवन: १ जना 

कुल निको हुनेको शंख्या: २२ जना (आज थप ८ जना संक्रमित निको भई घर जानसक्ने) 

नेपालमा संक्रमित भेटिएकाहरुमध्ये २७ जना महिला रहेका छन् भने ७४ जना पुरुष रहेका छन् । त्यस्तै निको भएकाहरु ५ जना महिला र १७ जना पुरुष रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!