दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँमा सशस्त्र प्रहरीले निगरानी बढायो

Posted on: 13 May, 2020

वैशाख ३१, दार्चुला | महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।

लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो ।

भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पिथौरागढबाट धमाधम नेपाली सीमा पुगेर महाकाली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडीमार्फत पु¥याउने गरेको मजदुरहरु बताउँछन् । महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मङ्गलरबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ ।

लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुच्र्यौडीका स्थानीय भारतको पिथौरागढबाट आएका हुन् भने लेकमका स्थानीय दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् । यसैगरी मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएको छ । 

चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनुभयो । सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्याससम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । 

ट्युबमार्पmत नेपाल आउने व्यक्तिले रु एक हजार ६०० देखि दुई हजार ५०० सम्म तिर्ने गरेका छन् । भारतले लकडाउन खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् । अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिमसिंह धामीले बताउनुभयो । अझै नदी तर्न नसकेर पारिपट्टि थुप्रै मान्छे रोकिएको उहाँले बताउनुभयो ।

अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा  छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!