उपत्यका छिर्न थप कडाइ: अनुगमन गर्दै नगरपालिका

Posted on: 15 May, 2020

सञ्चिता घिमिरे/सुभानु आचार्य | जेठ २, काठमाडौँ (रासस) | बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी गर्यो । उपत्यका बाहिरको कोरोना  सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको आज नै कोभिड–१९ को परीक्षणका लागि पठाइने नगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ मा एउटा परिवार पाँच दिन पहिले गुल्मीबाट आएका थिए । बैंकमा कार्यरत ती व्यक्ति काठमाडौँ आउँदा उनको परिवार पनि साथमै आएका थिए । टोलवासीले वडामा खबर गरेपछि अहिले वडा कार्यालयले त्यो परिवारलाई दुई साता घरभित्रै बस्न भनिएको वडाध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई अत्यावश्यक सामग्री टोलकै मान्छेले पुर्याउने भनिएको छ ।”

‘लकडाउन’ को शुरुको समयमा उपत्यका बाहिरका व्यक्ति कतिपय सजिलै त कतिपय कष्टकररुपमा घर फर्किएका थिए । त्यतिबेला जिल्ला फर्किएकाहरु सरकारले गत साता लकडाउन खुकुलो गर्ने निर्णयसँगै विभिन्न साधनबाट उपत्यका आएका छन् । उपत्यकामा मङ्गलबार र बुधबार गरी चारजनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले उपत्यकाका नगरपालिकाले सावधानी अपनाएका छन् । सङ्क्रमण पुष्टि भएका चारैजना सङ्क्रमित जिल्लाबाट आएका थिए । लकडाउन थप कडाइ गरिएको छ । एउटा जिल्लाबाट अर्को जिल्लामात्रै होइन एउटै जिल्लामा पनि एउटा स्थानबाट अर्को स्थानमा जान दिइएको पास गृह मन्त्रालयले रद्ध गरिसकेको छ । 

अहिले उपत्यकाका कतिपय नगरपालिकाले उपत्यका बाहिर गएकालाई फर्कन पूर्णरुपले रोक लगाएका छन् भने कतिपयले कोभिड नभएको पुष्टि भएपछि प्रवेश गर्न दिएका छन् । कतिपय स्थानमा घरबेटीले आउन नदिएपछि व्यक्ति जिल्ला नै फर्किएको पाइन्छ । कतिपय नगरपालिकाले स्वयंसेवक परिचालन गरेर सङ्क्रमित जिल्लाबाट आएर लुकेर बसेकालाई खोजी शुरु गरेको छ । स्थानीयवासीले ठाउँ ठाउँमा बाँस तेस्र्याएर प्रवेशमा रोक लगाइरहेका छन् । 

स्थानीयवासीले ती घरमा सङ्क्रमित जिल्लाबाट आएका व्यक्तिका कारण आफू असुरक्षित भएको भनेपछि तालाबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले १० दिन पहिले बोर्ड बैठकबाट उपत्यका बाहिरका सङ्क्रमित जिल्लामा गएका व्यक्तिलाई ‘जो जहाँ छ त्यहीँ बस्न’ भन्ने निर्णय गरेको थियो । कुनै पनि कारण देखाएर आउनेलाई पनि वडाध्यक्ष वा वडा कार्यालयसँग समन्वय गरेरमात्रै प्रवेश गर्न भनिएको उहाँले बताउनुभयो । गत साता विभिन्न बहानामा व्यक्तिहरु सङ्क्रमित जिल्लाबाट प्रवेश गरेका थिए । उहाँले भन्नुभयो, “कतिपय एम्बुलेन्सबाट त कति सरकारी गाडीको दुरुप्रयोग गरेर आइरहेकाले हामीले प्रहरीको सहयोगमा जाँच बढाएका छौँ ।”

चन्द्रागिरि नगरपालिमा सङ्क्रमित जिल्लाबाट आएकालाई कोभिड–१९ पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले यसलाई रोक्न शुक्रबारदेखि स्वयंसेवक परिचालन गरेको छ । यी स्वमंसेवकले विभिन्न स्थानमा पुगेर उपत्यका बाहिरबाट आएका व्यक्तिको पहिचान गर्ने र आउन चाहेकालाई रोक्ने काम गर्ने नगर प्रमुख रमेश महर्जनले जानकारी दिनुभयो । नगरपालिकाले सङ्क्रमित जिल्लाबाट आउने व्यक्ति आफ्नो टोलमा भए खबर गर्न भन्दै माइकिङ गरिरहेको छ । 

नगरपालिका प्रवेशका लागि धेरै नाका भएकाले रोक्न सम्भव नभए पनि धेरै व्यक्ति आउन सक्ने सम्भावित स्थानमा जाँच बढाइएको उहाँले बताउनुभयो । नगरपालिकाले सम्बन्धित घरधनीलाई आफ्नो घरमा बहालमा बस्ने व्यक्ति सङ्क्रमित जिल्लाबाट आएको हो भन्ने जानकारी गराउन भनिरहेको छ । उहाँले भन्नुभयो, “घरधनी माथिल्लो तलामा बस्ने हुँदा तल को आयो र को गयो भन्ने थाहा नहुने रहेछ ।”

बिहीबार गृह मन्त्रालयमा उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसँग कोभिड–१९ को रोकथामका विषयमा छलफल भएको थियो । सहभागी सबैले अहिलेको समयमा जो जहाँ छ त्यही बस्नुपर्ने र उपत्यका छिर्ने नाकामा प्रशासनले कडाइ गर्नुपर्ने बताएका थिए । 

अहिले धेरै स्थानबाट हाम्रो टोलमा उपत्यका बाहिरका जिल्लाका मान्छे छिरे भन्दै फोन आउने गरेको ललितपुर महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं ९ का अध्यक्ष राजु महर्जनले बताउनुभयो । गत साता धेरै व्यक्ति उपत्यका बाहिरबाट आएको उहाँले बताउनुभयो । तीमध्ये कतिपयलाई फर्काइएको छ भने कतिपय विभिन्न बहाना गरेर यहीँ बसेका छन् । एउटा परिवारमात्रै एउटा फ्लाटमा बस्ने हुँदा समस्या नभए पनि धेरै परिवार हुँदा समस्या पर्ने उहाँले बताउनुभयो । गत सातादेखि नै घरधनीले उपत्यका बाहिर गएका व्यक्तिलाई तत्काल नआउन भनी सम्पर्क गरेको थियो । उहाँले भन्नुभयो, “तर उनीहरु बहाना बनाएर आउन रोकिएन ।”

भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि लकडाउनपछि उपत्यका बाहिर गएका नगरवासीलाई कोभिड–१९ को परीक्षण गरेर रिपोर्ट नेगेटिभ हुँदामात्रै आउन भनेको छ । कोही व्यक्ति नगर प्रवेश गरिहालेमा उसलाई दधिकोटस्थित नगर अस्पताल, मध्यपुर अस्पताल वा भक्तपुर अस्पतालमा परीक्षण गर्न पठाइएको नगर प्रमुख वासुदेव थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर जिल्लामा नै दुईजनामा कोरोना देखिए पनि हामी थप सजग भएका छौँ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!