नेपालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु

Posted on: 16 May, 2020

जेठ ३, काठमाडौँ | हालसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको नेपालमा बिहिबार मृत्यु भएकी एक सुत्केरी कोरोना भाइरस कै कारण मृत्यु भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष रहेको बताइएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।  बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको बताएका हुन् ।

मन्त्री दुलालले केहीबेर अघि मात्र फेसबुकमा स्टाटस लेख्दै भनेका छन् 'धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका-९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु । सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । धैर्यता र सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । मृतकप्रति हार्दिक श्रद्धान्जली र बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।' 


सुत्केरीको कोरोना संक्रमणको कारण मृत्यु भएको बिषयमा आज दैनिक प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका थिए । 

यसैबीच धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकाय आफैले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!