कोरोना संक्रमणले मृत्यु भएकी महिलाले जन्माएको नवजात शिशुमा देखिएन कोरोना

Posted on: 18 May, 2020

जेठ ५, काठमाडौं । गत बिहिबार कोरोनाको कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाले जन्म दिएकी नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 

महिलाको मृत्युपछि उनले जान दिएको शिशु सहित श्रीमान र परीवारका पाँच जना सदस्यको परीक्षण गरिएको थियो । तर परीक्षण गरिएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन् । 

काठमाडौँको टोखामा बस्दै आएकी महिलाले वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेलस्थित अस्पताल ल्याइएको थियो । बिहीबार उनको मृत्यु भएको थियो । 

महिलाको मृत्यु भएपछि आएको संक्रमण नतिजामा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीको संलग्नतामा पशुपति आर्यघाटमा अन्त्यष्टि समेत गरिसकिएको छ । उनमा कोरोना संक्रमण भएर मृत्यु भएको पुष्टि भएसंगै काठमाडौँको टोखा, सिन्धुपाल्चोक, नयाँबसपार्क र माछापोखरीको आसपास क्षेत्रमा कोरोना परीक्षणलाई तीब्रता दिईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!