थप ९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना संक्रमित ९ दिनमै डिस्चार्ज

Posted on: 21 May, 2020

जेठ ८, काठमाडौं । झापामा ८ जना र रुपन्देहीमा एक जना सहित थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

चारजना निको भएर डिस्चार्ज 

यता काठमाडौँको टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमितहरु निको भएर फर्किएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका हुन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका छन् ।

यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!