नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ६८१ पुग्यो

Posted on: 25 May, 2020

जेठ १२, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको सोहि दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

संक्रमितको संख्या ६८१ पुग्यो

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६८१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु बर्दियाका गुलरिया–१० का २२ र २४ वर्षीया पुरुष र गुलरिया –२ का १८ वर्षका पुरुष रहेका छन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु पर्साको जिराभवानी गाउँपालिकका–४ का वर्षीय पुरुष १८ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यरत एक जना २८ वर्षीय पुरुष रहेका छन् ।

हालसम्म १ सय ११ जनाको डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका एक-एक जना पनि डिस्चार्ज भएका छन् । यस्तै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष पनि डिस्चार्ज भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!