सप्तरीमा दुई समूहबीच झडप: १५ जना घाइते, ८ राउण्ड हवाई फायर

Posted on: 03 Jun, 2020

जेठ २१, सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गर्नुपरेको डीएसपी भारतीले बताए । दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ । 

समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य भइसकेको प्रवक्ता भारतीले बताए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!