स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि केएमसी अस्पतालको आकस्मिक सहित सबै सेवा बन्द

Posted on: 03 Jun, 2020

जेठ २१, काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!